LATEST NEWS

नाकामा भारतीयहरुले फेरि मोर्चाका कार्यकर्ता माथि आक्रमण गरे हेर्नुहोस्

Posted by Daily News Pokhara ~ Thursday, 24 December 2015

वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलमा धर्ना दिएका मधेसी दलका कार्यकर्तामाथि भारतीयहरुले फेरि आक्रमण गरेका छन् ।

मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारी माथि बुधबार राति भारतीय तस्कर र तीनका भरियाहरुले आक्रमण गरेका हुन् ।

बुधबार राति आठ बजेतिर करिब सयजनाको संख्यमा हुलमा आएका भारतीय तस्कर र तिनका भरियाहरुले धर्नारत आन्दोलनकारी कुटपिट गर्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो । झडपका कारण मितेरी पुल बुधबार रातभर तनावग्रस्त रह्यो । भारत रक्सौलबाट सामानको तस्करी गर्ने तस्करहरुले मितेरी पुलमा नाका अवरुद्ध पार्न राखिएको बाँसको ढाट हटाएर सामान भित्रयाउन खोजेपछि आन्दोलनकारीहरुले प्रतिवाद गरेका थिए ।

त्यसको केहिबेरमै रक्सौल अहिरवा टोलबाट लठठ्ठी भाटासहित हुल बाँधेर आएका तस्कर र भरियाहले धर्नामा बसेका आन्दोलनकारीहरु माथि आक्रमण्को प्रयास गरेपछि झडप भएको धर्नास्थलमा रहेका नेपाल सदभावना पार्टी पर्साका सचिव कृणा पटेलले बताए ।

तस्करहरुले रक्सौलबाट टाँगा, ठेला र रिक्सामा ल्याएको कपडा लगायतका सामान आन्दोलनकारीले रोक्न खोज्दा तस्करहरु हुल बाँधेर लठठी भाटा बोकी आन्दोलनकारीलाई कुटन आएको पटेलले बताए ।

‘बुधबार राति धर्नामा १५-२० जनामात्रै बसेका थियाँै’, धर्नामा बसेका पर्सा रामनगरीका बृद्ध विक्रम साह तेलीले भने, ‘भारतीय तस्करहरुले रक्सौलबाट ल्याएको सामान वीरगन्ज छिराउन एक्कासी बाँसको ढाट तोडफोड गर्दा हामीले रोक्न खोज्यौँ, त्यसपछि उनीहरु हुल बाँधेर हामीलाई कुट्न खोजे ।

आन्दोलनकारीलाई तस्करहरुले कुटने प्रयास गरेको खबर वीरगन्जका एफएम रेडियोबाट प्रशारण भएको सुनेर बुधबार राति नै गाँउगाँउबाट मधेसी मोर्चाका कार्यकर्ता मितेरी पुलमा पुगेपछि तस्करहरु भागेको धर्नामा बसेका बाराका ताहिर मन्सुरले बताए ।

आन्दोलनकारीले तस्करहरुलाई धपाएको दाबी गरेपनि बुधबार राति मितेरी पुल नाकाबाटै ठूलो परिमाणमा तस्करीको सामान रिक्सा, टाँगा र ठेलामा राखेर वीरगन्ज छिराउन तस्करहरु सफल भएका थिए ।

१४ वटा टाँगा, १० वटा ठेला र १० वटा रिक्सामा तस्करहरुले कपडा लगायतका सामान नाकाबाट वीरगन्ज छिराएको धर्नास्थलमा बसेका एक आन्दोलनकारीले बताए ।

बुधबार राति मितेरीपुलको धर्नामा मधेसी दलका कोहि पनि स्थानीय नेता बसेका थिएनन् । बारा र पर्साको ग्रामीण भेगबाट आएका सर्वसधारण मात्र धर्नामा बसेका थिए ।

तस्करहरुले आन्दोलनकारीमाथि आक्रमण गर्ने प्रयास गरेको खबर एफ एम रेडियोहरुले निरन्तर प्रसारण गरेपनि बुधबार राति वीरगन्जका आन्दोलनकारी दलका कोही पनि नेता नआएको धर्नामा बसेका बाराका भीमा चौहानले गुनासो गरे ।

‘बाराको कलैयाबाट पुर्वसभासद् प्रमोद गुप्तामात्रै आउनु भयो , तर वीरगन्जका कोहि पनि नेता आएनन्’, उनले भने, ‘सबैजना एफएममा अन्तरावार्ता र भाषण मात्र दिन जान्या छन्, तर कार्यकर्ता कुटिँदा कोही आउँदैनन् ।’

मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारीहरु पटक पटक तस्कर र भारतीयहरुको आक्रमण पर्दै आएका छन् । गत मंसिर १६ गते राति र १७ गते बिहान पनि तस्कर र भारतीयहरुले धर्नामा बसेका आन्दोलनकारी माथि आक्रमण गरेका थिए ।

मंसिर १६ गते राति भारतीय र तस्करहरुको आक्रमण्बाट पाँच जना आन्दोलनकारी घाइते भएका थिए । मंसिर १७ गते बिहान पनि चार जना मधेसी दलका कार्यकर्ता घाइते भएका थिए ।
मंसिर १६ गते बिहान भारतीयहरुले धर्ना स्थलमा आन्दोलनकारीहरुले टाँगेको टेन्टमा पेट्रोल छर्केर आगो लगाउने प्रयास पनि गरेका थिए ।

मंसिर १६ गते राति भारतीयहरुले आन्दोलनकारीहरुले धर्ना स्थलमा टाँगेको टेण्ट भत्काउनुका साथै धर्नास्थलबाट आन्दोलनकारीलाई लखेटेर वीरगन्ज तर्फ अडकिएर बसेको एउटा भारतीय खाली ट्रक रक्सौल छिराएका थिए ।

वीरगन्जको आन्दोलनमा प्रहरीको गोलीबाट भारतीय युवकको मृत्यु भएपछि आक्रोशित भारतीयहरुले कात्तिक १७ गते पनि धर्नामा बसेका मधेसी दलका नेता कार्यकर्ता लाई दुव्र्यवहार गर्दै हातपात गरेका थिए ।

नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य शीव पटेलले धर्ना स्थलमा भारतीय नागरिकले नभइ तस्करहरुले पटक पकट आक्रमण गर्ने गरेको बताए ।

‘नाकाबन्दीका कारण तस्करी गर्न नपाएकाहरुले नै आन्दोलनकारीमाथि आक्रमण गरेका हुन्’, बुधबार बिहान मितेरी पुलमा भेटिएका पटेलले भनेका थिए, ‘तस्करहरुलाई नेपालका प्रहरीले पनि संरक्षण दिइरहेका छन् ।’

पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले आन्दोलनकारीहरु दशगजामा धर्ना बसेकाले त्यहाँ आफुहरुले केही गर्न नसक्ने बताए ।

‘आन्दोलनकारीलाई सुरक्षा दिने हाम्रो दायित्व त हो’, उनले भने, ‘तर उनीहरु नो म्यान्स ल्याण्डमा बसेका छन्, त्यहाँ हामीले केही गर्न सक्दैनौँ ।’

यदि कसैले नेपाली कुटिएको उजुरी दियो भने नेपाल प्रहरी कारबाहीको प्रकृया बढाउन तयार रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

संविधान निर्माण र सीमांकनको विरोधमा साउन ३० गतेदेखि नै आन्दोलनरत मधेसी दलले वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलमा असोज ७ गते देखि धर्ना दिएर नाका ठप्प पार्दै आएका छन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply