LATEST NEWS

पानीसँग जोडिएको अनौठो रोग.. के कारणले गर्दा यो रोग लाग्छ ?कस्ता मानिसलाई यो रोग लाग्छ ?जान्नैपर्ने कुराहरु ..

Posted by Unknown ~ Monday, 22 February 2016

फाल्गुन'९
३० वर्षीया रमा बारम्बार टोलाइरहन्छिन् । उनका मनमा अनौठा सोचाइहरु आइरहन्छन् । जब घरायसी काम गर्न खोज्छिन्, तब यस्ता अनौठा सोचाइका तस्बिर मनमा आई सताउने गर्छन् । उनलाई थाहा छ, यो सोचाइको तस्बिर आफ्नै हो तर उनी यसलाई नियन्त्रण गर्न सक्दिनन् ।

मनमा अशान्ति पैदा गर्छिन् । उनी मनबाट यस्ता कुरा हटाउन खोज्छिन् तर गाह्रो पर्छ ।

उनी लुगा धुन, नुहाउन पानीमा जानै हुँदैन । उनी त्यहाँबाट उम्कन सक्दिनन् । पानीसँग जोडिएको यो मनरोग अनौठो हुन्छ । जब उनी लुगा धुन जान्छिन्, तब उनले त्यहाँ घण्टाँै विताउनुपर्ने हुन्छ । जब लुगा धुँदै जान्छिन् । मनमा सोचाइ आउँछ– लुगा अझै सफा भइसकेको छैन । अझै दसपटक पखाल्नुपर्छ भनी पखाल्न सुरु गर्छिन् । यसरी गन्दै दसपटक पु¥याउँछिन् । केही छिन आनन्दको श्वास फेर्छिन् । फेरि सोचाइ दोहोरिन्छ अनि छट्पटाउँछिन् । त्यसो त लुगा धुने, नुहाउने, हात धुने, घर सफा गर्ने, ढोकामा चुकुल लगाउने, पैसा गन्ने आदि समयमा पनि यस्ता समस्या आउँछन् ।

रमाजस्ता समस्या भएका धेरै मानिस छन्, जसलाई यो रोग हो, होइन भन्ने थाहा छैन । जब यस्तो समस्या चरम उत्कर्षमा पुग्छ, तब डाक्टरकहाँ पुग्छन् । यस्तो समस्यालाई अब्सेसिभ कम्पलसिभ डिस्अर्डर भनिन्छ । यस्ता अनौठा सोचाइ, तस्बिर, शंका पैदा हुँदा बिरामी आत्तिने गर्छन् । किताब पढिरहँदा सिनेमाका दृश्यहरु मनमा आइरहने र पढाइमा ध्यान कम हुने भइरहन्छ । अग्लो पहाड या पुलमा जाँदा अचानक शंका उब्जिन्छ र हामफालुँजस्तो हुन्छ । त्यसो त मनमा हामफाल्नु हुदैन झन् खतरा हुन्छ भन्ने पनि थाहा छ तर यस्ता अनावश्यक सोचाइले गर्दा बिरामीमा छटपटी पैदा हुन्छ, के गरौं जस्तो हुन्छ र कहिलेकाहीँ चिच्याउने पनि गर्छन् ।

घरमा खुकुरी, चक्कु वा बन्दुक नजिकै बस्दा मनमा शंका पैदा हुन्छ । खुकुरीले आफूलाई हानिन्छ वा अरुलाई हानिन्छ । त्यस्तो गर्नु हँुदैन भन्ने थाहा छ, तैपनि यस्तो शंका उपशंका मनमा उत्तेजित भइरहन्छन् । कुनै अशुभ घटना हुने हो कि ? त्यसैले बिरामी यस्तो ठाउँमा बस्न रुचाउँदैनन्, त्यो ठाउँ छाडेर हिँड्छन् । यो त केवल मनको हुरी मात्र हो । सँगै बस्ने साथीलाई समेत थाहा हँुदैन । यो एक्लै हुँदा आउने मनोवैज्ञानिक समस्या हो ।

अब्सेसिभ कम्पलसिभ डिस्अर्डर बिरामीको मनको सोचाइको सीमै हुँदैन । मन्दिरमा गएर देवताका बारेमा नराम्रो सोचाइ, शंका, उपशंका आउनेदेखि लिएर आकाश किन नीलो हुन्छ भन्नेसम्मका अत्यन्तै विचित्रका सोचाइ दिमागमा जबरजस्ती पस्छन् । जसबाट बिरामी यस्ता सोचाइ हटाउन केही काम गर्नुपर्ने हुन्छ । प्रायः यस्ता बिरामी मन्दिरमा गई धेरैबेर बस्न सक्दैनन् । जब सोचाइ चरमोत्कर्षमा पुग्छ, तब मन्दिरबाट बाहिर निस्किन्छन् । आकाशमा हेरिरहन सक्दैनन्, हतियारनजिक बस्न नसकी अर्को ठाउँमा पुग्छन् ।

कतिपय दिनभर जुत्तामोजा लगाउँदैमा बिताउँछन् । जाडो महिनामा नुहाउन बाथरुम जाँदा घन्टौंसम्म नुहाइरहन्छन् । टाउको र शरीर चिसो भइसक्दा पनि पानीबाट बाहिर निस्कन सक्दैनन् । कहिलेकाहीँ त एक्कासी चिच्याउने गर्छन् । हात धुने सोचाइ आउने र यो कार्य दाहोरिँदा हात रातो हुन जान्छ । यसरी पानीबाट बाहिरिन अत्यन्तै गाह्रो हुने प्रायः पानीमै खेलिरहने हुनाले यस्तो रोगलाई पानी बहुलाहा अथवा पानी मनोरोग पनि भनिन्छ ।

३० वर्षका प्रकाश किसान हुन् । एक वर्षयता उनको मनमा एउटै विचार दोहोरिरहन्छ । सुत्न लाग्दा मूल ढोकामा चुकुल लगाएको, नलगाएको बारेमा शंका उठ्छ । छट्पटीमा परी हेर्न जान्छन्, हेर्दा चुकुल लगाइसकेको देख्छन् । फेरि त्यही कुरा दोहोरिरहन्छ । यस्तै खाना खाएपछि या दिसासपिसाब गरेपछि ३०—४० पटक म्म हात धुनुपर्छ । उनको मनमा विचार आउँछ, हात फोहोर छ अनि हात धुन्छन् । त्यसबाट केही क्षण छुटकारा मिल्छ अनि फेरि उही सोचाइ आउँछ र पटकपटक हात धुन्छन् । यसरी धेरैपटक हात धुँदा हात नै सुन्निन्छ ।

यस्तै बाटोमा हिँड्दा फोहोर वस्तु देख्छन् र डराउँछन् फोहोर वस्तु खाइएला भनेर । उनलाई थाहा छ, फोहोर वस्तु खानु हुँदैन । तर खाऊँ खाऊँजस्तो बनाउने डरले त्यहाँ बस्न सक्दैनन् । त्यस्तै यौन विचार आउनाले आफ्ना नातेदार केटीछेउ बस्न सक्दैनन् । उनलाई थाहा छ, आफ्नो सोचाइ गलत र सेन्सलेस हो तर त्यसवाट छुटकारा पाउन सक्दैनन् । यस्तो समस्या पनि अब्सेसिभ कम्पलसिभ डिस्अर्डर हो ।

यो एउटा यस्तो रोग हो जसमा वारम्वार विचार, सोचाइ, दृश्य दिमागमा आइरहँदा छटपटी हुन्छ । बिरामीलाई यो हटाउन चाहँदा चाहँदै पनि दिमागमा आई सताउने गर्छ । यो हटाउन बिरामीलाई कुनै क्रियाकलाप गर्नुपर्ने हुन्छ । जस्तै ः हात धुने, चुकुल लगाए, नलगाएको चेक गर्ने आदि । त्यसपछि यसबाट क्षणिक फाइदा हुन्छ तर फेरि दोहोरिरहन्छ ।

यो रोग लागेका कति बिरामीमा डिप्रेसनका लक्षण पनि पाइन्छन् । यो रोगका बिरामी मनभित्र अनेकौं सोचाइबाट ग्रसित हुन्छन् । मनमा दृश्यहरु पनि आइरहन्छन् । यस्ता मानिस मन्दिर जाँदा पनि समस्या आउँछ । देवतालाई कुल्चिने सोचाइ, देवताको यौन सोचाइ आइरहन्छ । बाटोमा पुलमा हिँड्दा हाम्फाल्ने र फोहोर खाइने सोचाइले मन छटपटी भइरहन्छ । धारिलो हतियारनजिक वस्दा अर्कालाई हान्ने सोचाइ, जुन गर्नुहुदैन भन्ने थाहा हुँदा पनि पटकपटक आइरहन्छ । कतिपय विबामी बाथरुममा घण्टौंसम्म बस्छन् र चिसोले कठ्यांग्रिन्छन् ।

के कारण रोग लाग्छ ?

यस्तो रोगको खास कारण अहिलेसम्म थाहा हुन सकेको छैन । तर मस्तिष्कमा सेरोटोनिन भन्ने रसायनको गडबडी हुँदा रोग लाग्छ भन्ने धारणा छ । यसबाहेक सोचेको काम सफल नहुँदा तथा मस्तिष्कको संक्रमणपछि पनि यो रोग भएको पाइएको छ । वंशाणुगत रुपमा पनि यो रोग सर्ने गर्छ ।

उपचार कसरी गरिन्छ ?

विभिन्न खालका औषधिको प्रयोग तथा मनोवैज्ञानिक उपचार सोचाइ परिवर्तन गराउने, बिरामीको सोचाइअनुसार ध्यान केन्द्रित हुन नदिने उपचार गराइन्छ । केही बिरामीमा पछि गएर कडा मानसिक रोग पनि देखा पर्छ । यस्ता बिरामीमा विचित्रका शंका, उपशंका आउने हुनाले दैनिक काम गर्न पनि गाह्रो पर्ने हुन्छ ।
यस्ता कुरा सँगै बस्ने मानिसलाई थाहै हुदैन, किन नुहाइरहन्छ ? किन हात थोइरहन्छ ? कसैले ख्यालै गरेको हुँदैन । उसको बानी यस्तै रहेछ भनेजस्तो हुने तर समस्या जटिल बन्दै जाँदा मात्र यो रोग लागेको थाहा हुने गर्छ । एकजना बिरामी पुरुष भन्छन्, ‘म महिलाको कम्मरभन्दा तल हेर्न सक्दिनँ ।’ केही बिरामीमा चाहिँ विभिन्न शंका, उपशंका आउने हुनाले हरेक काममा ढिलोपन आउँछ ।

कस्ता मानिसलाई रोग लाग्छ ?

यो रोग आफूले भनेको नै हुनुपर्ने, अर्काको काममा चित्त नबुझ्ने खालका मानिसलाई लाग्ने सम्भावना बढी हुन्छ । यस्ता मानिसहरु अत्यन्तै नैतिकवान् हुन्छन् । र, अरुबाट पनि त्यस्तो आशा गर्छन् तर समाज त्यस्तो छैन । साथै सहन सक्ने क्षता कम हुने, सानो कुरा पनि मनमा ठूलो रुपमा लिने मानिसलाई बढी हुने सम्भावना रहन्छ ।

जान्नैपर्ने कुरा

– यस्ता बिरामीले लुगा धुनु हँुदैन वा पानीमा गरिने कुनै पनि कामबाट टाढा हुनुपर्छ ।
– यस्ता बिरामीले मनमा एउटै कुरा लिइरहनु हुँदैन । बारम्बार सोचाइ परिवर्तन गर्नुपर्छ ।
– खतरा हुने सामान र खतरा स्थानमा बिरामीलाई राख्नु हुँदैन ।
– बिरामीलाई जति नै ठूलो समस्या देखा परे पनि यो उसको मनमा मात्र रहन्छ । सँगैको साथीलाई पनि केही थाहा हँुदैन ।
– कहिलेकाहीँ डिप्रेसन हुन सक्छ । त्यस्तो भए उपचार गर्नुपर्छ ।
– पछि कडा मानिसिक रोग पनि लाग्न सक्छ ।
– धामीझाँक्रीबाट यो रोग निको नहुने हुनाले भ्रममा पर्नु हुँदैन ।
– उपचार गरे यो रोग निको हुन्छ ।
– यस्ता बिरामीको मनमा बारम्बार कुरा आइरहने हुनाले अत्यन्त छटपटी हुन्छ । कुनै न कुनै कुरामा भुल्दा बिरामीको समस्या कम हुन्छ ।

मानसिक रुपमा कसरी स्वस्थ बन्ने ?

– कहिलेकाहीँ कुनै घटना परिस्थिति तथा बाध्यतापछि हाम्रो मन भौतारिन सक्छ । त्यस्तो अवस्थामा मन एउटै कुरामा घुमाइरहनु हँुदैन । बरु मन परिवर्तन गर्नुपर्छ । कुनै नराम्रो अनुभव मनमा लिइरहँदा हाम्रो मस्तिष्कमा समेत असर पु¥याउँछ, शरीर तात्छ, मुटुको धड्कन बढ्छ र छटपटी हुन्छ । त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाइ नलिने ।
– अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने ।

– हामी आफ्नो प्रगति चाहान्छौं । यो राम्रो पक्ष हो तर हामीमा केही गलत धारणा पनि रहन सक्छ । अर्काले प्रगति गर्दा आफूलाई नकारात्मक मूल्यांकन गर्नु नराम्रो बानी हो र संकीर्ण सोचाइ हो । त्यसैले मनलाई ठूलो पार्नुपर्छ । संकीर्ण पार्नु हुँदैन । धेरै मानिसहरु यस्ता समस्याबाट पिरोलिएका हुन सक्छन् । जसले गर्दा मनमा अशान्ति फैलन्छ र मनोरोग लाग्न सक्छ । प्रगतिशील, सच्चा सोचाइ, बाँच र बचाऔंको भावना मनमा जागेको हुनुपर्छ । हामी आफूभन्दा सानालाई कसरी सहयोग गर्ने र आफू सरहको प्रगतिमा साथ दिनुपर्छ ।
– पुराना रुढीवादी कुरामा विश्वास गर्नु हँुदैन ।
– बाटो हिँड्दा बिरालोले बाटो काट्यो वा रित्तो गाग्री देखियो भने अशुभ हुन्छ भन्ने गलत विश्वास छ । त्यसैले यस्ता वस्तु देख्दा मन बेचैन बनाउनु हुँदैन, मन ढुक्क नै हुनुपर्छ किनभने यसमा कुनै सत्यता छैन । राशिफल, हेराउने, भूतप्रेत, बोक्सीको युगको अन्त्य भइसक्यो । त्यस्तै यस्ता कुरामा चिन्ता लिई समय बरबाद नगर्ने । बरु सफा पानी, ताजा खानेकुरा खाने, राती बाटोमा हिँड्दा भूत लाग्छ भन्दै मन डराएर ढुंगोदेखि तर्सेर पनि मानिस बिरामी हुन्छ । मनोराग लाग्न पुग्छ । त्यसैले पुराना गलत चलन पनि हटाउनु पर्छ । कसैलाई बोक्सी भनेर कुट्नु शतप्रतिशत झुटो हो । त्यसैले हाम्रो गाउँघरमा पनि आधुनिक चेतना जगाउन आवश्यक छ । मरेको मानिसको आत्मा मनमा आउँछ भन्ने वा मरेको मानिसले दुःख दिएको भन्ने कुरा पनि सरासर झूटो हो । यस्ता कुरामा मन लग्दा अशान्ति हुन्छ र मनोरोग लाग्छ ।
– हरेक काममा खुसी, सुखी तथा सन्तुष्ट बन्नुपर्छ । दैनिक जीवनमा काम गर्दै जाँदा कहिले सफल भइन्छ त कहिले असफल भइन्छ । असफल भएका कारण हतास हुनु हुँदैन, बरु असफलताको कारण के छ ? त्यो पत्ता लगाई सफलताको बाटोमा फेरि अगाडि बढ्नुपर्छ । निराश हुनु हँुदैन । अरुसँग पनि सरसल्लाह लिनुपर्छ ।
कहिलेकाहीँ हाम्रा अगाडि समस्या नै समस्या तेर्सिएर बसेका हुन्छन् । यस्तो अवस्थामा आत्तिनु हुँदैन । कतिपय समस्या आफैं पनि समाधान भएर जान्छन । तीन, चार महिनामा आउने समस्यालाई लिएर अहिले देखिनै चिन्तित हुनु हुँदैन । बरु देखिएका समस्यालाई एउटा योजना बनाई अघि बढ्नुपर्छ ।
कतिपय मिडियाले राम्रो कुरालाई पर्दा पछाडि राखी नराम्रो कुरालाई प्रचार गर्छन्, जसले गर्दा सर्वसाधारणमा बिग्रियो, भत्कियो, बेकार छ भनेजस्तो भावना आउन सक्छ तर वास्तविकता त्यस्तो हँुदैन । त्यसैले टिभी, फिल्ममा समाचार तथा डरलाग्दो दृश्य हेर्नु हुँदैन ।
– जे छ, त्यसमा सन्तुष्ट बन्ने तर मिहिनेत गर्न नछाड्ने ।
– धेरै मानिस आफू कहाँबाट आएको हो भन्ने कुरा पनि बिर्सन्छन् । विगतलाई बिर्सन्छन्, वर्तमानमा सन्तोष लिन चाहाँदैनन्, किनभने समय पार गर्दै जाँदा ठूलो उन्नति भएको पनि बिर्सन्छन् र सधैं असन्तोषी भइरहन्छन् । विगतमा आफू कुन अवस्थामा थिएँ, अहिले कुन अवस्थामा आइपुगियो भनेर मूल्यांकन गर्नुपर्ने हुन्छ । धेरैजसो मानिस ठूलो प्रगति गर्दा पनि क्षणिक आनन्द लिन्छन् । त्यसैले मनमा सन्तोष भएको हुँदैन । त्यसले हामीले सन्तोष लिन सिक्नुपर्छ । मैले यो अवधिमा यति गरेँ, भगवान्ले मलाई यसरी पु¥याएका छन् भनी सन्तुष्ट हुनुपर्छ तर मिहिनेत गर्न छाड्नु हँुदैन । पुराना असफलतालाई केलाउँदै लक्ष्यमा पुग्नुपर्छ ।
– लागुपदार्थ दुव्र्यसनबाट अन्य मानसिक रोग लाग्ने सम्भावना भएकोले यी वस्तुबाट टाढा रहने ।
– कति मानिसमा रक्सी पिउने बानी हुन्छ । विस्तारै यी मानिस बिहानदेखि नै रक्सी लिने र दिनदिनै रक्सीको मात्रा बढाउँदै जान्छन् अनि रक्सीको मातमा झगडा गर्ने, श्रीमतीसँग शंका गर्ने, कहिलेकाहीँ डराउने, घरबाट भाग्ने, छारे रोगजस्तै गरी ढल्ने गर्छन् । त्यस्तै कति मानिस लागुऔषध दुव्र्यसनमा फस्छन्, दैनिक दुई–चार हजार रकम यसमा खर्चन्छन् साथै अनैतिक काम गर्न बाध्य हुन्छन् । साथै एड्स तथा हेपाटाइटिस बीजस्ता रोगबाट पनि ग्रसित हुन पुग्छन् । सुई साटासाट गर्ने, छाडा यौन सम्पर्क गर्ने, ड्रग लिनका लागि चोरी पनि गर्छन् । त्यसैले यस्ता वस्तुवाट सधैं टाढा रहनुपर्छ ।
– दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ ।
– समाजमा ठूलाले सानालाई हेप्ने, आफूमात्र समाजमा प्रतिष्ठित बन्न खोज्ने, अर्कालाई उचित अवरोध गर्ने प्रवृत्ति पनि छ । यस्तो आपराधिक वातवरणको सधैं अन्त्य गर्नुपर्छ । समाजमा स्वस्थ प्रतिस्पर्धा भएमा सबै मानिसले उत्तिकै क्षमता विकास गर्न सक्छन् । कसैलाई डर हुँदैन, सबैको कल्याण हुन्छ । यस्तो वातावरण बनाउनु समाज तथा राष्ट्रको कर्तव्य हो ।
– अति नैतिकवान नबन्ने तथा अरुबाट पनि त्यस्तो आशा नगर्ने ।
– समाजमा केही मानिस हरेक काममा अति नै सचेत हुन्छन् । अरुलाई कुनै प्रकारको मर्का नपरोस् भनी हरेक क्षणमा ध्यान पु¥याउँछन् तर समाज त्यस्तो छैन र समाजबाट यस्ता मानिसले धोका पाउँछन् र मन दुखाउन पुग्छन् । मनोरोग लाग्न पुग्छ ।
– केही मानिसलाई आफूले गरेकोबाहेक अरुले गरेको काममा चित्त बुझ्दैन । त्यसैले यस्ता मानिस अरुले गरेको काम सच्याउने गर्छन् । जस्तै : कोठा सफा गरेको मन नपर्ने, आफैंले सफा गर्नुपर्ने । यस्तो हुँदा दैनिक जीवनमा अप्ठ्यारो महसुस हुन्छ । त्यसैले केही हदसम्म अर्काले गरेको कामलाई पनि उचित स्थान दिनुपर्ने हुन्छ ।
– समाजमा अति नैतिक भई बाँच्न गाह्रो छ । त्यसैले आफू पनि परिवर्तन हुनुपर्छ र समाजअनुसार चल्नुपर्छ ।
– मनका कुरा अरुलाई भन्ने वानी गर्ने ।
– हामीमा ठूलो समस्या आउँदा पनि अरुलाई नभन्ने वानी हुन्छ, जसले गर्दा मनमा अशान्ति फैलिन्छ । हावा भरिएको प्रेसर कुकरझैं विस्फोट हुने वा अचानक सिठी लाग्ने, ठूलो हलचल हुने जस्तो हुन सक्छ । यसले पनि तनाव बढाउँछ । त्यसैले त्यस्ता कुरा आफ्नो मन खाने मानिसलाई भन्नुपर्छ, आफ्नो मनको वेदना अरुलाई व्यक्त गर्दा मन शान्त हुन जान्छ ।
– पहिले पहिले मानसिक रोग भनिन्थ्यो तर अहिले मनोरोग भन्ने गरिन्छ । मनोरोग भनेको अति समरुप टेन्सन हुनेदेखि कडा रोग सिजोफोर्नियासम्म पर्छ । त्यसैले अति सामान्य रोगदेखि कडा रोगसम्मका बिरामी यसमा पर्छन् । डिप्रेसन रोग लागेका बिरामी ज्यादै चिन्तित देखिन्छन् । जीवनमा अनावश्यक चिन्ता लिनु हुँदैन ।स्रोत;ओयस नेपाल 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply